पोखरा। मुस्ताङको थासाङ–३ लेतेमा बिहीबार सम्पन्न तारा खेल प्रतियोगितामा बागलुङ विजयी भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको दोेश्रो गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलको उपाधि बागलुङले म्याग्दीलाई पछि पार्दै उपाधि विजयी भएको हो।
विजयी भएसगैँ बागलुङले नगद ७५ हजार र शिल्ड प्राप्त गरेको छ। उपविजेता म्याग्दीले नगद ५० हजार प्राप्त गरेको छ ।प्रतियोगितामा मुस्ताङको ‘ए’ टिम भने तेश्रो भएको छ । तेश्रो भएको मुस्ताङले ३० हजार नगदका साथमा कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा म्याग्दीको टीकाबहादुर शेरपुञ्जा मगर सर्वश्रेष्ठ धनुर्धर भएका छन् । त्यसैगरी प्रतियोगितामा विशिष्ट धनुर्धरको उपाधि बागलुङका सुनिल बुढा मगरले प्राप्त गर्न सफल भए। प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमका ३६ जना खेलाडीहरुले सहभागिता जनाएका थिए।