बागलुङ । नेपालकै पुरानो 'विद्यामन्दिर पुस्तकालय' बागलुङले ७५ औँ साधारण सभा सम्पन्न गरेको छ । वि.सं. २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको यस विद्यामन्दिर पुस्तकालयले उत्कृष्ट पाठक,अक्षयकोषका संरक्षकलाई सम्मान,माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै 'बागलुङको कथा' नामक कृति सार्वजनिक गरी बार्षिक साधारण सभा मनाएको छ ।
साधारण सभाको प्रदेश सभा सदस्य डिल्लीराम सुबेदीले उदघाटन गरेको छन । साधारण सभामा नन्द–गंगा स्मृति कोषबाट माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने बागलुङ नगरपालिका ६ जना विद्यार्थीलाई प्रशंसा पत्र र नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै यस वर्षको उत्कृष्ट पाठक र पुस्तकालयमा विभिन्न कोष खडा गर्ने अक्षयकोषदातालाई सम्मान गरिएको छन ।
साधारण सभाको अवसरमा 'बागलुङको कथा' नामक कृति समेत सार्वजनिक गरिएको छ। विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन प्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कोपिला कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
धौलागिरी क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा समेत यस पुस्तकालयलाई लिने गरिन्छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका पुस्तकहरु सहित विद्युतीय पुस्तकालय 'इ–लाइब्रेरी' पनि सञ्चालनमा छ ।